एसिया यू-१८ रग्बिमा नेपालले भारतलाई हरायो
२४ मंसिर, काठमाडौं । एसिया रग्बि को आयोजना र नेपाल रग्बि संघको व्यवस्थापनमा शनिबारदेखि काठमाडौंमा सुरु भएको एसिया रग्बि यू–१८ सेभेन्स च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले भारतमाथि ऐतिहासिक जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार पुल ए अन्तर्गत अन्तिम खेलमा नेपालले भारतलाई १२-१० को स्कोरले पराजित गरेको हो ।
सुरुवाती दुई खेल हारेको नेपालले उपाधि दाबेदार भारतलाई पराजित गर्दै जितको खाता खोलेको हो ।
शनिबार भएको पहिलो खेलमै थाइल्याण्डसँग १५–७ ले पराजित भएको नेपाल दोस्रो खेलमा मलेसियासँग ३४–० ले पराजित भएको थियो ।
पुल ए मा मलेसियाले तीनवटै खेल जित्दा नेपाल, भारत र थाइल्याण्डले समान एक खेल जिते । तर स्कोरको आधारमा भारत दोस्रो र थाइल्याण्ड तेस्रो स्थानमा रहँदा नाल चौथो स्थानमा रह्यो ।
नेपालले अब प्लेट च्याम्पियनसिप सेमिफाइनलमा पुल बी को तेस्रो स्थानमा रहेको चाइनिज ताइपेईसँग आइतबार खेल्नेछ ।
पुरुषतर्फ अन्य खेलमा मलेसियाले भारतलाई १४-५ र थाइल्याण्डलाई १७-० ले हराएर पुल ए को विजेता बन्यो । नेपालसँग पराजित भएको भारतले थाइल्याण्डलाई भने २९-० ले हराएको थियो ।
पुल बी अन्तर्गत युएई तीन खेल जित्दै समूह विजेता बन्यो । युएईले दक्षिण कोरियालाई २४-७ ले, बंगलादेशलाई ८१-० र चाइनिज ताइपेईलाई ५२-५ ले हरायो ।
यस्तै दक्षिण कोरियाले चाइनिज ताइपेईलाई १७-१२ र बंगलादेशलाई ८०-० ले हरायो । चाइनिज ताइपेईले बंगलादेशलाई ७०–० ले हराएको छ । बंगलादेशले तीनवटै खेलमा स्कोर गर्न समेत सकेन ।
अब सेमिफाइनलमा मलेसियाले दक्षिण कोरिया तथा युएईले भारतसँग खेल्नेछ । यी दुईको विजेताबीच आइतबारै फाइनल हुनेछ ।
प्लेट च्याम्पियनसिपमा नेपालले चाइनिज ताइपेई र थाइल्याण्डले बंगलादेशसँग खेल्नेछ । यी दुईको विजेताबीच पाँचौं स्थानको लागि खेल हुनेछ ।
महिलातर्फ नेपाल जितविहीन
यस्तै पहिलो दिन महिलातर्फ नेपाल जितविहीन बन्यो । पाँच टिम सहभागी महिलातर्फ नेपालले शनिबार खेलेको दुवै खेलमा पराजित भयो ।
पहिलो खेलमा थाइल्याण्डसँग ३९-० ले पराजित भएको नेपाल दोस्रो खेलमा युएईसँग ४१-० ले पराजित भयो । नेपालले दुवै खेलमा स्कोर गर्न सकेन । नेपालले अब आइतबार भारत र मलेसियासँग लिगको बाँकी खेल खेल्नेछ ।
महिलातर्फ पहिलो दिन भारत, थाइल्याण्ड र युएईले समान २ खेल जिते ।
मलेसिया र थाइल्याण्डलाई हराएको भारत युएईसँग पराजित भयो । युएईले भारतका साथै नेपाललाई हरायो । यस्तै थाइल्याण्डले नेपाल र मलेसियालाई पराजित गर्दा भारतसँग भने पराजित भयो ।
प्रतियोगिता अन्तर्गत आइतबार लिग चरणका बाँकी खेलका साथै नकआउट चरणको सबै खेल हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ५ टोली सहभागी छन् ।