‘गणतन्त्रमा पनि फेरिएन भीआईपीको सवारी प्रणाली’

५ फागुन, काठमाडौं ।  गणतन्त्र स्थापनाको डेढ दशकमा बढी आलोचना भएको विषय मध्ये एक हो, भीभीआईपीको सवारी । सात वर्षे कार्यकाल पूरा गरेर विदाइ हुने क्रममा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी पटक-पटक सवारीकै कारण आलोचित हुनुपर्‍यो ।

२९ माघमा शितल निवासबाट नयाँ बानेश्वरस्थित संसद भवन आउने-जाने क्रममा भएको सवारीका क्रममा राष्ट्रपतिको चर्को विरोध भयो । संसद् बैठकमा सांसदहरुले सवारीबारे आपत्तिजनक प्रश्न उठाएका थिए । राष्ट्रप्रमुख मात्रै नभएर प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, प्रदेश मन्त्रीदेखि जनप्रतिनिधिहरुको जीवनशैली र सम्मान समेत विवादित बन्दै आएको छ ।

यसै विषयमा केन्द्रित रहेर नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् प्रतिनिधिसभा सदस्य रघुजी पन्तसँग गरिएको कुराकानीको सम्पादित अंशः

गणतन्त्रको प्रतीक राष्ट्रपति सधैं विवादमा पर्ने एउटा विषय हो, सवारी । यसपटक पनि सवारीकै कारणले विवादित बन्नपरेको छ । समस्या कहाँ हो ?

कुनै एउटा घटनालाई मात्रै अगाडि राखेर यो विषयमा छलफल नगरौं । पञ्चायतकालमा राजाको सवारी हुँदा अहिलेको भन्दा पीडादायी ढंगले प्रहरीले घण्टौं बाटो खाली गराउँथ्यो । त्यो बेला अहिले जति चाप थिएन । तर पनि त्यसरी रोकिन्थ्यो ।

कुकुरले बाटो काट्यो भनेर हाकिमले कुट्न लागेको थियो भनेको एक जना भूपु प्रहरी अधिकृतको अन्तर्वार्ता पढेको थिएँ । त्यो बेला पनि त्यस्तो थियो । भीभीआईपीको सवारीबारे पञ्चायतकालको चलन लोकतन्त्र आएपछि जस्ताको तस्तै सारियो ।

हाम्रो सुरक्षा संयन्त्र पुरानै हो । त्यसैले लोकतन्त्र आएपछि नयाँ ढंगले सोचौं भन्नेतिर उनीहरु गएनन् । पुरानै प्रणालीलाई कायम राखियो । राजनीतिक मान्छेहरुले पनि आपत्ति जनाएनन् । लोकतन्त्र आएको छ, सजिलो र सुलभ बनाउऔं भनेनन् ।

अझ लोकतन्त्रमा नेताहरुमा अर्को खालको विकृति पनि देखियो । माओवादी द्वन्द्वकालको निहुँमा नेताहरुको सुरक्षा बढाइयो । द्वन्द्व सकिएपछि त त्यो खालको सुरक्षा चाहिँदैनथ्यो । तर एकचोटी मन्त्री भइसकेका नेताले गार्ड राखिराख्न खोज्ने, गाडी राखिराख्न खोज्ने देखियो ।

प्रधानमन्त्री र गृहमन्त्रीको तामझाम छ, त्यो पनि परिवर्तन हुन जरुरी छ । कुरा राष्ट्रपतिको मात्रै होइन । प्रधानमन्त्रीसँग अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी हुन्छ । नदेखिनेगरी गुप्तचर पनि हुन्छ ।

जबकी, पञ्चायतकालमा मरिचमान सिंह जम्मा एउटा गाडीमा हिँड्थे । कीर्तिनिधि विष्ट एउटा गाडीमा हिँड्थे, सूर्यबहादुर एउटा गाडीमा हिँड्थे । त्यही कारमा अगाडि ड्राइभर र गार्ड हुन्थ्यो, पछाडि प्रधानमन्त्री । प्रधानन्यायाधीश त्यसैगरी हिँड्थे ।

अहिले प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश भीभीआईपी सुरक्षा लिएर हिँड्छन् । अहिलेको अवस्थामा त्यो जरुरी छैन । यो त खर्चिलो भयो । यसबारे प्रधानमन्त्रीको तहबाट सोच्नुपर्छ ।

मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा मैले घटाऔं भनेको थिएँ । उहाँले पनि ‘हुन्छ घटाऊ । मलाई केही नभए पनि फरक पर्दैन’ भन्नुभयो । अहिलेका प्रधानमन्त्रीहरुले त्यही ढंगले सोंच्नुभएन । सोच्नुपर्ने त्यसरी हो । तपाईं लोकप्रिय प्रधानमन्त्री हो भने लोकसँग किन डराउने ?

तर फेरि आवश्यक सुरक्षा चाहिँदैन भन्ने होइन । अनावश्यक सुरक्षा घटाऔं । पञ्चायतका प्रधानमन्त्री र मन्त्रीले भन्दा बढी सुविधा गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीलाई किन चाहियो ?

अर्कातिर राष्ट्रपतिका कतिपय कार्यक्रम औपचारिक हुन्छन् । त्यो कार्यक्रममा पहिलेदेखि नै सूचना दिएर गर्नुपर्छ । कुनै देशको राष्ट्राध्यक्ष आउँदैछ भने आवश्यक औपचारिकता त पूरा गर्नुपर्यो । त्यस्तो बेला अलिअलि जनतालाई दुःख हुन्छ, तर दुःख कम गराउनेतिर सोंच्नुपर्छ ।

राष्ट्रपतिका कतिपय औपचारिक कार्यक्रममा अहिले प्रधानमन्त्री हिँडे जसरी सवारी गराउँदा पनि हुन्छ । प्रधानमन्त्री हिँड्दा त ट्राफिक मिलाए मात्रै हुन्छ, त्यसरी नै राष्ट्रपतिको सवारी हुन सक्छ । तर यो गर्ने राष्ट्रपतिले होइन, प्रधानमन्त्रीले हो ।

अहिले प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश भीभीआईपी सुरक्षा लिएर हिँड्छन् । अहिलेको अवस्थामा त्यो जरुरी छैन । यो त खर्चिलो भयो । यसबारे प्रधानमन्त्रीको तहबाट सोच्नुपर्छ ।

सवारी मात्रै होइन, नेताहरुको जीवनशैलीलाई समेत व्यवस्थासँग जोडेर हेरिएको छ । यसले व्यवस्था कमजोर हुँदैछ ?

कमजोर भएको छैन । तर आलोचना बढेको छ । राष्ट्रपतिको सवारी हुँदा म आफैं जाममा परें, त्यहाँ मान्छेहरु रिसाएको देखें । जनताको दुःख कम गर्नेगरी राष्ट्रपतिको सवारी तय गर्न सकिन्छ । ‘पीक आवर’को समयमा राष्ट्रपतिको सवारी नराख्न सकिन्छ । ट्राफिक व्यवस्था मिलाउन सकिन्छ । तर इच्छा शक्ति आवश्यक पर्छ ।

गणतन्त्र आएको डेढ दशक नाघिसक्यो, आलोचना सधैं हुन्छ । इच्छा शक्ति कसले देखाउने ?

यसमा ब्युरोक्र्याटका नेतृत्वले पनि सोच्नुपर्छ । जनताको असन्तुष्टि छ, फेरि विरोध हुन सक्छ भनेर सोच्नुपर्छ । यो समाधान नै निस्कन नसक्ने विषय होइन । यो लोकतन्त्रमा शासन प्रणाली जनता भन्दा टाढा हुनु हुँदैन । जनताको भावनालाई सम्बोधन गर्न सक्नुपर्छ ।

यसअघि रामवरण यादव राष्ट्रपति हुँदा पनि सवारीको कुरा पटकपटक उठेपछि उहाँ आफैंले मिलाउन पहल गर्नुभएको थियो । त्यसपछि विद्यादेवी भण्डारी राष्ट्रपति हुनुभयो, उहाँले पनि मिलाउन प्रयत्न गर्नुभयो । तर यो प्रयत्न राष्ट्रपतिले गरेर हुने होइन । सुरक्षा प्रणाली कस्तो बनाउने भन्ने कुरा सरकार र सुरक्षा संयन्त्रले निर्णय गर्छ । यो कुरा गृहमन्त्रीको हातमा हुन्छ, क्याबिनेटले गर्न सक्छ । गृह सचिवको भूमिका हुन्छ ।

सत्ता बाहिर हुँदा जनताको दुःख देख्ने, तर मन्त्री हुनासाथ त्यो बिर्सने प्रवृत्ति कसरी अन्त्य होला र ?

मलाई पनि सुरक्षा लिन भनिएको थियो । मैले मानिनँ । किनकि म काठमाडौंमै हुर्कें बढें । सानो बच्चादेखि बुढासम्मले चिन्छन् । ललितपुरबाट दुईपटक चुनाव जितें । किन असुरक्षा अनुभूति गर्ने ? मैले नराम्रो काम पनि केही गरेको छैन ।

मितव्ययी जिन्दगी जिउन मैले राजनीति गर्दा सिकें । आफ्नो आम्दानीमा बाँच, स्वाभिमानका साथ बाँच र कम खर्चमा जीवन बिताऊ भनेर कम्युनिष्ट पार्टीमा सिकें । भूमिगत कमरेडहरुलाई लुगा उठाएर पठायौं । आफूलाई दिएको पैसा जोगाएर पार्टीलाई लेबी तिर्थ्यौं । आफूले नखाई सिनियर र भूमिगत नेतालाई खुवाउँथ्यौं ।

तर सत्ता, शक्ति र सम्पत्तिले मान्छेलाई भ्रष्ट बनाउँछ । त्यसमा निश्चित दुरी राख्नुपर्छ । धेरै सम्पत्तिमा लोभ गर्नु हुन्न । अब प्रहरी लिएर किन हिँड्ने ? मैले सुरक्षा लिइनँ । म पछि मन्त्री हुने धेरै साथीहरुले लिइरहनु भएको छ ।

मेरो बुझाइमा, हामी जनताका छोराछोरी जनताकै बीचमा हुर्किएर आएका हौं । कहिले सांसद हुन्छौं, कहिले मन्त्री हुन्छौं । म आठ÷दश वर्ष सांसद भइनँ । तर लेखेरै जीविका चलाएँ । अहिले पनि लेख्न मन छ, लेखेको पारिश्रमिक लिन्छु । परिश्रमको मूल्य लिँदा केही आपत्ति हुँदैन । मेरो मान्यता के हो भने राजनीतिलाई जीवन रुपान्तरणको माध्यमका रुपमा लिएको हो । तर अरु जस्तै सुविधाभोगी हुनु हुँदैन, पारदर्शी जीवन जिउनुपर्छ ।

तर तपाईंकै जस्तो पृष्ठभूमि भएका नेताहरु कसरी सामान्य जीवनशैली अपनाउन नसकिने निष्कर्षमा पुगेजस्तो लाग्छ ?

भारतका कतिपय नेताको साधारणपन मलाई मन पर्छ । तर हिजोको भन्दा अहिलेको परिस्थिति फरक छ । मेरो आम्दानीले गाडी धान्न सक्दैन, म गाडी लिन्नँ । तर धान्न सक्नेहरुका लागि गाडी, बाइक र स्कुटर आवश्यक जस्तो भइसक्यो । त्यसलाई सुविधा सम्पन्न भयो भनेर आलोचना गर्न सक्नु हुन्न । एक तहका नेताहरुलाई त्यो आवश्यकता भइसक्यो ।

तर, सिम्पल र पारदर्शी हुनुपर्यो । अहिले सोफिस्टिकेट हुने प्रवृत्ति बढेको छ । त्यो प्रवृत्तिमा लैजाने एउट वर्ग छ । उनीहरुले नेताहरुलाई भ्रष्ट बनाउन खोज्छन् । नेताहरुलाई साधन र स्रोत जुटाइदिन्छ । अनि नेतामा आदत बस्छ, त्यसबाट मुक्त हुन सक्दैन ।

यो कुनै पार्टी विशेषमा मात्रै होइन, विभिन्न पार्टीमा तपाईं देख्न सक्नु हुन्छ । त्यसकारण हामी यो सर्कलबाट मुक्त हुनुपर्छ, जनताको बीचमा जानुपर्छ । जनस्तरको जीवन जिउनुपर्छ । कहिले मन्त्री हुन्छौं, कहिले सांसद हुन्छौं, कहिले केही पनि हुँदैनौं । त्यही ढंगले बाँच्न तयार हुनुपर्छ ।

म बेला–बेला टेम्पो चढ्छु, साझा बस चढ्छु । कसैले ठाउँ छोडिदिन्छन्, म बस्छु । तर म भन्दा बढी उमेरका देखेँ भने म आफैं सिट छोडिदिन्छु । यो नेपालीको संस्कृति हो, आफू भन्दा बढी उमेरकालाई दाइ, काका, मामा भनेर सम्मान गर्ने । अहिले नेताहरुमा यस्तो संस्कार देख्दिनँ ।

हामीले बुझ्नुपर्छ, मान्छे पदले नेता हुने होइन । आफ्नो देन, विचार, त्याग, सरलता र कार्यले आदरणीय हुुने हो । पदले स्वीकार्ने कुरा बाध्यकारी मात्रै हो । पद भएपछि त मान्नुपर्यो । तर रेस्पेक्ट पदले मात्रै जित्दैन । तर बिर्सनु हुँदैन, जनताको मनमा बस्ने नेता पो नेता । त्यस्तो नेता बन्ने कोशिस गर्नुपर्छ ।

नेताहरुको जीवनशैली र सुविधालाई पूर्वराजासँग तुलना गर्ने प्रवृत्ति पनि बढ्दो छ । नेताहरुलाई नयाँ सामन्त भन्छन् । यसको परिणाम कस्तो देख्नुहुन्छ ?

जनता धेरै चेतनशील भएका छन् । अधिकार जनताको हातमा आएको छ । महिला, उत्पीडित, दलित, पछाडि पारिएका समुदायमाथि उत्पीडन कम भएको छ । परिवर्तनको अनुभूति गर्ने परिस्थिति बनेको छ । यो कुरा गणतन्त्रको ठूलो उपलब्धि हो ।

तर फुडालिज्म (सामन्तवाद) भनेको राजामा मात्रै हुने होइन । यो एउटा चिन्तन प्रणाली हो । उत्पादन प्रणालीले चिन्तन बनाउँछ । सामन्तवादी प्रणालीले हजारौं वर्ष लगाएर सामन्ती शासन प्रणाली जन्मायो । त्यो सामन्ती शासन प्रणालीलाई हटाइयो ।

कतिपय देशमा अझै राजतन्त्र छ, तर सामन्ती शासन प्रणालीमा छैन । जस्तो– इङ्गल्याण्डमा राजा छ । उनीहरुको औपचारिक कार्यक्रममा तामझाम छ । तर त्यहाँको राजा नाम मात्रको छ । उसलाई अधिकार छैन । त्यहाँको पार्लियामेन्ट यति बलियो छ कि त्यहाँको औद्योगीकरणले राजतन्त्रलाई पनि पुँजीवादीकरण गर्यो ।

स्वीडेन र डेनमार्कमा त्यस्तै छ । स्वीडेनमा राजा साइकल चढेर हिँडिरहेको हुन्छ, जनतालाई मतलब छैन । राजाले यसो हात हल्लाउँछन् । त्यो भनेको उत्पादन प्रणालीसँगै राजतन्त्रले पनि परिवर्तन गर्दै आयो । त्यसो हुँदा कहीँकहीँ राजतन्त्र टिकेर बसेको छ ।

तर सामन्तवाद राजामा मात्रै नभएर हामीमा पनि हुन सक्छ । फलानो जात सानो, फलानो जात ठूलो, महिला भन्दा लोग्ने मान्छे निर्णायक र ठूलो, दलित भन्दा जनजाति ठूलो भन्ने जात विशेषको अहंकार छ भने त्यो सामन्तवाद हो । मान्छे सबै बराबर हो नि ।

तर पुरानो अवशेष सकिएको छैन । नेताहरुमा पनि बाँकी छ । यसलाई परास्त गर्ने भनेको जनताको आलोचनाले हो । बुद्धिजीवी र सञ्चार माध्यमले भनेपछि सच्चिदै जान्छन् ।

Sharing This Article