डिजल-पेट्रोलको विकल्प हाइड्रोजन

डिजल-पेट्रोलजस्ता खनिज तेलबाट उत्पादित ऊर्जाका कारण विश्वव्यापीरुपमा कार्बन उत्सर्जनमा वृद्धि भइरहेको छ । जसका कारण वायु प्रदूषणसहित जलवायु परिवर्तन र तापमानमा समेत वृद्धि हुँदै गएको छ । यहीकारण आज विश्वभर जलवायु परिवर्तनको असर देखापरिसकेको छ ।

नेपालको हकमा मुलुकको कुल ऊर्जा खपतको लगभग ३०.९५ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ । आयातित पेटोलियम पदार्थका कारण भारतसँगको परनिर्भरता बढेको छ । मुलुकको व्यापार घाटा बढ्नुको मुख्य कारक आयातित पेट्रोलियम पदार्थ रहेको छ । नेपाल सरकारले कूल निर्यात भन्दा बढी रकम पेट्रोलियम पदार्थको आयातमा खर्चदै आएको छ ।

जलवायु परिवर्तनको सन्दर्भमा जाइका लगायतका संघसंस्थाका अध्ययन अनुसार नेपालमा सवारी साधन लगभग ३८ प्रतिशत कुल वायु प्रदूषण र ७९.५ प्रतिशत कुल हरित गृह ग्यास उत्सर्जनका लागि जिम्मेवार छन् । ‘आवर वर्ल्ड इन डाटा, २०२३’ ले सन् २०१९ मा नेपालको कार्बन उत्सर्जन ५ मिलियन टन पुगेको देखाएको थियो । अझ विभिन्न अध्ययनले देखाएअनुसार काठमाडौं उपत्यकामा चल्ने ४० प्रतिशतभन्दा बढी सवारी साधनहरु उत्सर्जनको मानक भन्दा कम रहेको छ ।

यसले गम्भीर रुपमा एकातिर जनस्वास्थ्यमा असर गरिरहेको छ भने अर्कोतिर नेपालको ऊर्जा परनिर्भरता बढाउनुका साथै नेपालको ‘नेट जेरो’ को लक्ष्यमा समेत असर गरिरहेको छ । त्यसैले विश्वव्यापी रुपमा अभियानका रुपमा अघि बढेको पेट्रोल/डिजेल सवारीसाधन विस्थापन अभियानमा ठोस कदम चाल्नु नेपालका लागि ढिलो भैसकेको छ ।

सवारी साधनमा पेट्रोल/डिजेलको विकल्प

नेपालमा उत्पादित बिजुली देशभित्रै खपतको वातावरण सिर्जना गर्नुपर्छ र बचेमात्रै भारतमा निर्यात गरिनुपर्छ भन्ने सोच नीतिनिर्माता, सरकार र लगानीकर्ताको छैन । यस अवस्थामा हाइड्रोजनमा गरिने लगानीले नेपाललाई आत्मनिर्भरताको बाटोमा डोर्‍याउने कुरामा शायदै दुइमत होला

सवारी साधनमा पेट्रोल/डिजलको प्रयोगको विकल्पको रुपमा अहिले विश्वभरी नै इलेक्ट्रिक भेइकल (ईभी) को प्रयोग बढिरहेको छ । तर यसका केही सीमितताहरु छन् जसका कारण यसले अपेक्षाकृत गति लिन नसकिरहेको अनुमान भैरहेको छ । मुख्यतया यसको प्रयोग साना तथा मझौला खालका सवारी साधनमा उपयुक्त हुन्छ भने अर्कोतिर यसमा प्रयोग हुने ब्याट्रीको डिस्पोजलको समस्या पनि उत्तिकै छ । अझ महत्वपूर्ण कुरा के छ भने यस्तो ब्याट्रीमा प्रयोग हुने लिथियम, कोबाल्ट जस्ता धातु विश्वमै दुर्लभ छन् जसका कारण ईभीको विश्वव्यापी माग कुन हदसम्म पूर्ति हुन सक्ला भन्ने गम्भीर प्रश्नहरु पनि उठिरहेका छन् ।

यस्तो अवस्थामा सवारी साधनमा पेट्रोल/डिजेलको विकल्पको रुपमा हाइड्रोजनको प्रयोग विश्वव्यापी रुपमै उदाउँदो दिशामा अघि बढिरहेको छ । हाइड्रोजन सवारी साधनमा दुई तरिकाबाट प्रयोग गर्न सकिन्छ, पहिलो ‘फुएल सेल’ र दोस्रो ‘हाइड्रोजन कम्बसन इन्जिन’ । ‘फुएल सेल’ एक एलेक्ट्रोकेमिकल सेल हो जसले (हाइड्रोजन) इन्धनको रसाइनिक ऊर्जालाई विद्युतमा परिवर्तन गर्दछ । टोयोटा मिराइ, हायुण्डाइ नेक्सोजस्ता ‘फुएल सेल’मोडलले विश्वव्यापी रुपमा हाइड्रोजनको सवारी साधनमा प्रयोगलाइ बढावा दिइरहेका छन् । तर यसको लागत खर्च, कम प्रभावकारिता र हाल प्रयोग भैरहेका सवारी साधनमा ठूलो परिमाणमा इन्जिनको फेरबदल गर्नुपर्ने भएकाले सोचेजस्तो परिणाम ल्याउन सकिरहेका छैनन् । यस्तो अवस्थामा हाइड्रोजन कम्बसन इन्जिन नेपालको लागि निकै नै उपयोगीसिद्ध हुन सक्छ ।

हाइड्रोजन कम्बसन इन्जिन के हो र किन आवश्यक छ ?

अहिले चल्तीमा रहेका पेट्रोल/डिजलबाट चल्ने इन्जिनमा थोरै फेरबदल (माइनर मोडिफिकेसन) गरेर हाइड्रोजन इन्धनको रुपमा प्रयोग गर्न सकिने इन्जिनलाई हाइड्रोजन कम्बसन इन्जिन भनिन्छ । हाइड्रोजन कम्बसन इन्जिनको सबैभन्दा ठूलो विशेषता के हो भने यसमा थोरै मात्र इन्जिनमा मोडिफाइ गरेर र तदनुरुप थोरै खर्चमा यसको सन्चालन गर्न सकिन्छ । यो तथ्य मननीय छ कि विश्वव्यापी रुपमा समेत नयाँ पेट्रोल/डिजल इन्जिनको आगामी दशकमा बिक्री वितरण बन्द गर्ने निर्णयलाई ईयु जस्ता संगठनहरुले पुनरावलोकन गर्न लागिरहेका छन् । किनभने इन्जिन आफैंमा खराबभन्दा पनि त्यसमा प्रयोग हुने इन्धन खराब हो भन्ने जनचेतना बढ्दै गैरहेको पाइन्छ । त्यसमाथि हाल प्रयोग भैरहेका इन्जिन आफैंमा परिमार्जित र अझ विकसित हुँदै आइरहेका छन् ।

अझ महत्वपूर्ण र रोचक तथ्य के छ भन्दा विकसित मुलुकहरुमा सफल परीक्षण भैसकेको र व्यापारिक प्रयोजनमा समेत गैसकेको हाड्रोजन कम्बसन इन्जिन ‘डुअल मोडल’ -हाइड्रोजन र पेट्रोल/डिजल दुवै) वा शतप्रतिशत हाइड्रोजन राखेर चलाउन सकिन्छ । ‘डुअल मोडल’ मा हाइड्रोजन नभएको अवस्थामा शतप्रतिशत पेट्रोल/डिजलबाट पनि सवारी साधन चल्न सक्दछ ।

हाइड्रोजन कम्बसन इन्जिनमा शतप्रतिशत हाइड्रोजनको प्रयोगको वातावरणीय फाइदा त छँदै छ, यससँगगै सवारी साधनमा ‘डुअल मोडल’ मा हाइड्रोजनको प्रयोगले माथि उल्लेखित कार्बन उत्सर्जन, हरित गृह ग्यास उत्सर्जन लगायत वातावरण प्रदूषणमा पनि कमी आउँछ । साथै नेपालमै व्यापक सम्भाव्यता भएको हाइड्रोजनको प्रयोगमा बढावा दिएर नेपालको परनिर्भरता घटाउन सहयोग गर्दछ । स्मरणीय रहोस्, नेपालको जलस्रोतको सम्भावनाले विश्वमै कम खर्चमा हाइड्रोजन उत्पादन गर्नसक्ने मुलुक नेपाल बन्न सक्ने विभिन्न अध्ययनले देखाएका छन् ।

अहिले नै नेपालबाट हाइड्रोजन निकासी गर्नेभन्दा पनि आन्तरिक रुपमा खपत गराउन सके धेरै नै सम्भावनाका द्वारहरु खुल्ने देखिन्छ । अहिले नेपालमै भैरहेका सवारी साधनमा यसको सम्भावित प्रयोग एउटा ठूलो कोशेढुंगा बन्न सक्दछ । रिन्यु जेन रेसोर्सेस नेपालको प्रारम्भिक अध्ययनले समेत १०० किलोवाटको हाइड्रोजन प्लान्टले २०-२५ ओटा ‘डुअल मोडल’ (३०-४० प्रतिशत हाइड्रोजन र ६०-७० प्रतिशत पेट्रोल/डिजल) मा सवारी साधन सन्चालन गर्नसक्ने देखाएको छ ।

नेपालको कुल ग्राहस्थ उत्पादनको लगभग १७ प्रतिशत हिस्सा पेट्रोल/डिजलमा खर्च भैरहेको छ । यस अवस्थामा सवारी साधनमा पेट्रोल/डिजलको विकल्पको रुपमा हाइड्रोजनको प्रयोग नेपालको आर्थिक, वातावरण प्रदूषण न्यूनीकरणका लागि कोशेढुंगा साबित हुनेछ ।

गत घटस्थापनायता दशैं अवधिमा मात्रै नेपालमा उत्पादित दैनिक ५ सय मेगावाट बिजुली खेर गइरहेको समाचार आएका थिए । उक्त बिजुली खेर जाँदा ५ अरब रुपैयाँ क्षति भएको अवस्था छ । भारतले आज नेपालबाट बिजुली किन्ने, भोलि नकिन्ने जस्ता ६ महिना/वर्ष दिन भित्र नीति फेरेको फेर्यै छ । नेपालको बिजुली किन्ने सम्बन्धी भारतको एकल नीति नभएका कारण नेपालको विद्युत बजारमा अन्यौलता छाएको छ । त्यसैले नेपालमा उत्पादित बिजुली देशभित्रै खपतको वातावरण सिर्जना गर्नुपर्छ र बचेमात्रै भारतमा निर्यात गरिनुपर्छ भन्ने सोच नीतिनिर्माता, सरकार र लगानीकर्ताको छैन । यस अवस्थामा हाइड्रोजनमा गरिने लगानीले नेपाललाई आत्मनिर्भरताको बाटोमा डोर्‍याउने कुरामा शायदै दुइमत होला ।

(डा.प्रमोद टण्डन र रजना महर्जन रिन्यु जेन रेसोर्सेस नेपालमा आवद्ध छन् भने लक्ष्मण मोहत्रा इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा उपप्राध्यापक हुन् ।)

Sharing This Article