थारू संस्कार र परिकारको स्वाद चखाउँदै बहेड्वा होमस्टे

२५ कात्तिक, काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका-१३ की प्रभा कुमारी चौधरी आजभोलि गाउँमा नै खोलिएको होमस्टेमा व्यस्त हुन्छिन् । होमस्टेमा आउने पाहुनालाई स्वागत/सत्कार गर्ने, पकाउने, खुवाउने जस्ता काममा उनको समय बित्ने गरेको छ । २०७८ साल असारमा गाउँमा नै ‘बहेडवा थारू सामुदायिक होमस्टे’ खोलेपछि उनी सहितका महिलाहरूको दैनिकी अहिले फेरिएको छ ।

गाउँमा होमस्टे खुल्नुभन्दा अगाडिसम्म उनको दैनिकी हुन्थ्यो, गुजारा चलाउनका लागि घरको काम गर्न, छोराछोरीको लागि खाना पकाउने खुवाउने र दैनिक रुपमा जागिर खान अफिस जानु पर्ने । यसरी घर परिवारर जागिरसहितको जीवन चलाउन उनलाई धौ-धौ थियो । तर, जब गाउँमा होमस्टे खुल्यो, त्यसपछि उनको दैनिकी नै फेरिएको छ । उनी आजभोलि राती अबेरसम्मै होमस्टेमा आएका पाहुनाहरूलाई थारू परिकार पकाउन, खुवाउन र सामुदायिका सत्कारमा व्‍यस्त हुन थालेकी छिन् ।

‘पहिले त घरकै काममा दिनचर्या चलेको थियो’ उनी विगत सम्झिन्छिन्, ‘घरमा छोराछोरीकै स्याहार, घर व्‍यवहार र  अफिसको काम गरेर बित्थ्यो।  ‘ उनले १५ वर्षसम्म  अफिसमा जागिर खाइन् । तर मनले अझै चित्त बुझेन । उनले जागिर छाडिन् र समाज सेवामा लागिन् । त्‍यसपछि समाज सेवाको संगतले उनी देशका विभिन्‍न ठाउँमा घुम्न पाइन् र थाहा पाइन् की सामुदायिक होमस्टेले आर्थिक उपार्जनसँगै सामाजिक र मौलिक संस्कृतिमा महत्वपूर्ण टेवा मिल्दोरहेछ । यसले होमस्टे खोल्न थप प्रेरणा दियो उनलाई ।

उमेरले ३४ पुगेकी प्रभा कुमारीको जीवनमा पनि होमस्टेले निक्कै ठूलो परिवर्तन ल्याएको छ । पहिला दैनिक घर व्‍यवहा जागिर गर्ने प्रभा अहिले होमस्टेमा आउने पाहुनाहरूको स्वागत र सत्कारमा जुट्ने गर्छिन् ।

होमस्टे सञ्चालनबाट आएको रकमले जीवनमा थोरै भए पनि परिवर्तन ल्याएको छ । ‘होमस्टेबाट हुने आयआर्जनले छोराछोरीलाई विद्यालय पढाउने, घर व्यवहार चलाउने जस्ता काममा धेरै सजिलो भएको छ’, उनी भन्छिन् । साथै थारू समाजको रहनसहन, खानपिन तथा संस्कारको संरक्षणमा थप टेवा पुगिरहेको छ ।

होमस्टेमा बगिया, तेलपौर रोटी र घोङ्हीसँगै सत्कार

 बहेडवा थारु सामुदायिक होमस्टे (घरबास) मा थारु परिकार खुवाएर पाहुनाको स्वागत गरिन्छ । यसबाट पाहुनाहरु पनि लोभिएका छन् । त्यहाँ एकपटक पुग्ने पाहुनालाई पुन: जाँउजाउँ बनाउन होमस्टे सञ्चालकहरु जुटेका छन् । थारु समुदायको १५ घर मिलेर सञ्चालन गरेको होमस्टेमा पाहुनालाई थारू परिकारहरु खुवाइन्छ ।

थारु परिकारमा बगिया, तेलपौर रोटी, माछा, गँगटा, घोङ्ही, पकौडालगायत परिकार खुवाइन्छ । पाहुनाको चाहना अनुसार लोकल कुखुरा, हाँस र परेवाको परिकार पनि उपलब्ध गराइन्छ ।  

थारु संस्कारमै गरिएको स्वागत, सत्कार र मीठो परिकारले पाहुना खुसी हुन्छन् । ‘यो थारु होमस्टे जिल्लाकै पहिलो हो,’ उनी भन्छन्, ‘हाम्रो सत्कार र परिकारलाई प्रवर्द्धन गर्दै पाहुनालाई खुसी बनाउँछौं ।’

आर्थिक उपार्जनसँगै संस्कृति संरक्षण

गाइघाट बजारको बरूवा खोला तरेपछि मूल सडकको ४०० मिटरको दूरीमा दक्षिण-पश्चिमतर्फ लागेपछि बहेडवा थारू सामुदायिक होमस्टे पुगिन्छ । होमस्टे बनाउन त्रियुगा नगरपालिका मेयर कोषबाट ५० हजार, उपमेयर कोषबाट १ लाख ५० हजार र २०७९ सालको देउसी भैलो कार्यक्रमबाट बहेड्वा सामुदायिक थारु होम स्टेले उठाएको ५० हजार रकमबाट होमस्टेको सञ्चालन गरिएको थियो ।

हाल ११ वटा घरमा बनाइएको उक्त होमस्टेमा एक रातमा ६० जनासम्म अटाउन सक्छन् । होमस्टेमा आउने पर्यटकलाई उनीहरूले आफ्नो संस्कृति अनुसार ‘बसघरामे स्वागत सत्कार’ (थारू समुदायमा आफूभन्दा ठूला मान्यजन तथा पाहुनालाई गरिने सम्मान) गरेर स्वागत गर्दछन् । टीका र फूल दिएर स्वागत गर्दै काँस र खरले बनाइएको सामुदायिक भवनमा लगेर राख्छन् ।

थारू समुदाय मूलत: धानमा आश्रित रहेर जीविकोपार्जन गर्ने समुदाय भएकै कारण यहाँ आउने पाहुनाहरूलाई सुरुमा उसिना चामलको बनेको भूजा, चामलकै पीठोबाट बनेको तेलपौर रोटी, बगिया र थारू फूड घोङ्ही, ओलको अचार खाजाको रुपमा दिएर स्वागत गर्छन् । बस्ने होमस्टेहरूसम्म पाहुनालाई लैजान्छन् ।

होमस्टेको एक रात बसेको ५०० रुपैयाँ र मासुसहितको खानाको ३०० रुपैयाँ लिने गरिन्छ । पाहुनालाई हाँस, लोकल कुखुरा, परेवाका विभिन्न परिकारका साथै थारू परिकार घोङ्ही, माछाको झोल, स्थानीय र आफ्नो जातिसँग जोडिएका परिकारहरू खुवाउने गर्दछन् ।

होमस्टेमा बसेका पाहुनालाई मनोरञ्जन दिन साँझमा थारू सांस्कृतिक नाचगानलगायत सांस्कृतिक कार्यक्रम हुन्छ । थारू महिलाहरूले थारू पौराणिक गीतहरू चाचैर, वीरहैन, समाचकेवाको गीत, पराँती, जटाजाटिनको गीतलगायतका कला र थारू युवतीहरूले थारू पोशाकमा नाचहरू प्रदर्शन गर्ने गर्दछन् ।

यीमध्ये चाचैर, वीरहैन, समाचकेवाको गीत, पराँती, जटाजाटिन थारू समुदायको परम्परागत संस्कृति झल्कने गीत र नाच हुन् भने पाहुनाका लागि सांस्कृतिक प्रस्तुति दिनका लागि अलग्गै १५/२० जनाको युवतीको टिम नै बनाएर थारू आधुनिक गीतमा नाँचेर मनोरञ्जन दिने गरिन्छ ।

पाहुनालाई चौदण्डीगढी दरवारदेखि रौतामाइ पोखरीसम्म भ्रमण

पाहुनाहरूलाई होमस्टेबाट करिब २ किलोमिटर पर रहेको सिद्धेश्वर महादेव मन्दिर, जोगी पोखरी, साकेला थान, शान्ति धाम, कृष्ण मन्दिर, दुर्गा मन्दिर, लेबर पार्क, बिसनपुर ग्रीन पार्क, हरित पार्क, चुरे मन्दिर, रौतामाइ पोखरी, चौदण्डीगढी दरवार, उदयपुरगढी दरवार, उदयपुर सिमेन्ट फ्याक्ट्री र भ्यू टावर भ्रमण गराइन्छ ।

दुई वर्ष अगाडिदेखि सञ्चालनमा आएको होमस्टेमा अहिलेसम्म ५ हजारभन्दा धेरै आन्तरिक तथा बाहृय पर्यटक आएको तथ्यांक छ । काठमाडौं, पोखरा, भैरहवालगायत ठाउँबाट आन्तरिक पर्यटक पर्यटक आएको होमस्टेका सञ्चालक उत्तिम चौधरी बताउँछन् । होमस्टेबाट दुई वर्षमा ५ लाखभन्दा बढी आम्दानी भएको उनले जानकारी दिए ।

देशकै उत्कृष्टमा सूचीकृत

उदयपुरको त्रियुगा नगरपालिका-१३ बहेडवामा रहेको बहेडवा सामुदायिक थारु होमस्टे देशकै उत्कृष्टमा सूचिकृत भएको छ । २०७८ साल असारमा त्रियुगा नगरपालिकाको २० हजार अनुदान बीऊ पुँजीबाट सञ्चालनमा आएको बहेड्वा सामुदायिक थारु होमस्टे पहिले राम्रोसँग चलेन । तर,  हाल दैनिक रुपमा ४० जना ग्राहकहरु आउने र महिना दिनदेखि बुक हुने गरेको छ । देशकै उत्कृष्ट भएको प्रमाण पत्र पाएपछि यसको प्रचार प्रसार भएपछि भने होमस्टेमा पाहुनाको भीड लाग्ने गरेको छ ।

पर्यटन मन्त्रालय मातहतको तारा गाउँ विकास समितिका वरिष्ठ शाखा अधिकृत घनश्याम ढकालको टीम नेपाल पर्यटन कोर्डका सदस्य शिव लामिछानेले होम स्टेको अध्ययन अवलोकन गरेको थियो ।

अवलोकन पछिको सिफारिस समितिले बहेड्वा सामुदायिक थारु होम स्टेलाई नयाँ गाउँ गन्तव्य घोषण गरी कैलाली गारखा र उदयपुरको होम स्टेलाई देशकै उत्कृष्ट होम स्टेको रुपमा घोषण गरेको बहेड्वा सामुदायिक थारु होम स्टेका सञ्चालक मध्येका एक उतिमचन्द्र चौधरी बताउँछन् ।

उनी भन्छन्, ‘दैनिक सरदर २० देखि ४० जनाका दरले ग्राहकहरु आउनुहुन्छ। काठमाडौंदेखि देशका विभिन्‍न भागबाट पनि होमस्टेमा खानाको परिकारको स्वाद लिन पाहुनाहरू आउनुहन्छ।यसले हामीलाई आर्थिक उपार्जनमा टेवा पुग्छ नै, सामाजिक र सांस्कृतिक पहिचानका लागि पनि जगेर्ना भइरहेको छ ।’

बहेड्वा सामुदायिक थारु होमस्टे देशकै उत्कृष्ट ३ भित्र कसरी पर्‍यो भन्‍ने प्रश्नको जवाफमा अध्यक्ष चौधरी भन्छन्, ‘हामी तराईका आदिवासी थारू समुदाय यहाँको जल, जंगल र जमिनलाई आत्मैदेखि माया गर्छौं। हामीले आफू बस्‍ने ठाउँलाई सधैं सरसफाई, खानामा स्थानीयतालाई पहिलो प्राथमिकता दिएका छौं। पुर्खाले सिकाएका सीपलाई नबिगारिकन व्‍यवहारमा ल्‍याएका छौं। थारू परिकारमा विविधता, पाहुना व्यवस्थापनमा, स्वागतमा नयाँपन, सामाजिक कार्यमा अग्रसरतालगायतका विषयमा मुल्याङ्कन पछि हामी देशकै उत्कृष्ट दर्जामा पर्न सफल भएका हौं।’

५० घरमा होमस्टे सञ्‍चालनको तयारी

 

दैनिक रुपमा पाहुनाहरु बढ्न थालेपछि ५० घरमा होमस्टे सेवा विस्तार गर्ने तयारीमा जुटेको छ बहेड्वा सामुदायिक थारु होमस्टे । ‘दैनिक रुपमा पाहुनाहरु बढ्न थालेपछि ५० घरमा होमस्टे सेवा विस्तार गर्ने तयारी गरेका छौं।अब यसले पाहुनाहरूलाई बस्न थप सहज हुनेछ भन्‍ने आशा गरेका छौं।’ होमस्टेका अध्‍यक्ष भगवान सिंह चौधरी बताउँछन् ।

 हल र थारू संग्रहालय बनाउने तयारी

होमस्टेमा आउने पाहुनाहरूलाई भव्‍य र सभ्य रुपमा थारू संस्कृति र पहिचानलाई नजिकबाट नियाल्नका लागि हल र थारू पहिचान झल्काउने थारू संग्रहालय बनाउने तयारी भइरहेको छ ।

होमस्टेका अध्यक्ष चौधरी भन्छन्, ‘ दैनिक रुपमा पाहुनाहरु आउनेक्रम बढिरहेको छ। त्यसकारण यसलाई थप व्‍यवस्थित बनाउन लागेका छौं । हाम्रो आफ्नो मौलिक पहिचान झल्काउने र देखाउने थारू संग्रहालय बनाउने तयारी गरेका छौं । साथसाथै थारू सांस्कृतिक कार्यक्रम गर्न एउटा व्‍यवस्थित हल पनि बनाउने तयारीमा जुटेका छौं।’

‘टाढा टाढाबाट केही दिन अघि नै पाहुनाहरुले फोन गर्ने बुक गर्ने गरेको गर्नु भएको छ। उहाँहरू राति १ बजे आए पनि उठेर खाना र बासको व्यवस्था गर्ने गरेका छौं’ होमस्टेकी कोषाध्यक्ष प्रभाकुमारी चौधरी भन्छिन्, ‘हामीले पाहुनाको स्वागत र सत्कारलाई राति अबेरसम्मै कायम राखेका छौं। उहाँहरूको अर्डर अनुसार टिप्पिकल थारू परिकारमा हामीले कुनै कमी हुन दिएका छैनौ।तर अब हलको व्‍यवस्था गर्न सकेका छैनौ भने आफ्नो मौलिक संस्कृति देखाउने संग्रहालयको बारेमा भन्न सकेका छैनौ। यसबारेमा हामी थप तयारीमा जुटेका छौं।’

 थारू संस्कारमा सजिँदै पाहुना

देशका विभिन्‍न भागबाट आएका पाहुनाहरू थारू संस्कार र पहिरनमा रमाउन मन पराउन थालेका छन् । उनीहरू बास बसेको भोलिपल्टदेखि थारू संस्कार अन्तर्गतका थारू गरहना, सारी (सेतो र हरियो रंगमा मिक्स गरिएको), धोतीकुर्ता र पगरी जामा (थारू पुरूषहरूले लगाउने पोशाक) लगाउन उत्साहित हुने गरेको होमस्टेका सञ्‍चालक उत्तिम चौधरी सुनाउँछन् ।

उनी भन्छन्, ‘खासगरी महिला पाहुनाहरू थारूको गरहगनाहरू (हौसली, करा, पायल,बाक-बाजू, शीरबन्दी) र सारी लगाउन बढी चासो दिनु हुन्छ। उहाँहरू उक्त गहना र सारीमा सजिएर थारू गीतमा टिकटकसमेत बनाएर अपलोड गर्नुहुन्छ। उहाँहरूलाई थारूको भेषभूषाप्रति निकै मोह देखाउनुहुन्छ।यसबारेमा उहाँहरू बुझ्न खोज्नुहुन्छ र हामीसँग सोध्नुहुन्छ।’

सामाजिक सेवामा पनि हात फैलाउँदै

यहाँ होमस्टेसँगै सामाजिक कामसमेत हुने गरेको बहेडवा होमस्टे सञ्चालन समितिका अध्यक्ष भगवान् सिंह चौधरीको भनाइ छ ।

सामाजिक क्षेत्रमा गरिब तथा सीमान्तकृत वर्गका लागि निःशुल्क आँखा शिविर सञ्चालन, निःशुल्क चश्मा वितरण गर्नुका साथै यो होमस्टेले डेंगी रोग सम्बन्धि सचेतना कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।

उनी भन्छन्, ‘ होस्टेसँगै सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनुपर्छ भन्‍ने उद्देश्यले हामीले गरिब तथा सीमान्तकृत वर्गका लागि निःशुल्क आँखा शिविर सञ्चालन, निःशुल्क चश्मा वितरणलगायतका सामाजिक काममा पनि हात फैलाउँदै आएका छौं।  ‘

उदयपुरमा तीनवटा थारू होमस्टे सञ्चालनमा आइसकेको छ । सबैभन्दा पहिले हालको बेलका नगरपालिका-१ तपेश्वरीस्थित आमबासी गाउँमा थारु होमस्टे सञ्चालन भएको थियो । त्यपछि दोस्रो होमस्टेको रुपमा त्रियुगा नगरपालिका-१ जोगीदहको मैनाहा गाउँमा सञ्चालनमा छ भने सबैभन्दा पछि अर्थात तेस्रो होमस्टे त्रियुगा नगरपालिका-१३ को बहेडवामा सञ्चालन भएको हो। बहेड्वा देशकै उत्कृष्टमा पर्न सफल भएपछि यहाँको थारू परिकार र संस्कारबारे बुझ्न देशभरबाट पाहुनाहरू आइरहेका छन् ।

विदेशी पाहुना भित्र्याउने चाहना

यस होमस्टेमा थारूको परिकार र पहिचानबारे अन्तराष्ट्रियस्तरमा चिनाउनका लागि विदेशी पाहुना भित्र्याउने  उत्कट चाहना रहेको होमस्टेका अध्यक्ष चौधरी बताउँछन् ।

उनी भन्छन्, ‘स्वदेशी पाहुनाहरू देशभरीबाट आउनु भएकै छ। हामीले उहाँहरूलाई स्वागत गरिरहेकै छौं। तर अब यो होमस्टेमा विदेशबाट पनि पाहुनाहरू आऊन् र हामीले उहाँहरूको स्वागत र सत्कार गर्न पाऊ भन्‍ने उत्कट चाहना छ हाम्रो।’  उनी विदेशबाट विदेशी पाहुना ल्याइदिन सरकारको पर्यटन मन्त्री र मन्त्रालयसँग काठमाडौं जाँदा भेटेर अनुरोध गरेको पनि सुनाए ।

विदेशबाट विदेशी पाहुनाहरू आएमा थारू समुदायको मात्रै नभइ देशको नाम अन्तराष्ट्रिय स्तरमा पुग्ने र थारूको परिकार र संस्कारको पनि अन्तराष्ट्रियकरण हुने उनको बुझाइ छ। उनी भन्छन्, ‘ विदेशबाट नेपाल घुम्ना आएका विदेशी पाहुनाले हाम्रो परिकार र संस्कार देखेर उनीहरूको देशमा प्रचारप्रसार गरे हाम्रो मात्रै होइन देशको पनि शान बढ्छ। त्यसकारण हामी विदेशी पाहुनालाई स्वागत गर्न हर्दम तयार छौं । सरकारसँग पनि हामीले विदेशी पाहुने पठाइदिने आशा गरेका छौं।’

Sharing This Article