नेदरल्याण्ड्स, रोमानिया र स्विट्जरल्याण्ड युरोकपमा छनोट
३ मंसिर, काठमाडौं । नेदरल्याण्ड्स, रोमानिया र स्वीट्जरल्याण्ड अर्को वर्ष जर्मनीमा आयोजना हुने युरोकपमा छनोट भएको छ ।
समूह बी अन्तर्गत शनिबार राति भएको खेलमा आयरल्याण्डलाई १-० ले पराजित गर्दै नेदरल्याण्ड्सले युरोमा स्थान पक्का गरेको हो ।
नेदरल्याण्ड्सका लागि एक मात्र गोल वाउट वेघोस्टले ११औ मिनेटमा गरे ।
जितपछि नेदरल्याण्ड्स ७ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा छ । शीर्ष स्थानको फ्रान्सले यसअघि नै युरोकपमा स्थान बनाइसकेको छ ।
पराजित आयरल्याण्डले ८ खेलमा ६ अंक जोडेर छनोट प्रतियोगिता सकाएको छ ।
यस्तै समूह आईबाट रोमानिया र स्विट्जरल्याण्ड पनि युरोकपमा छनोट भएको छ ।
रोमानियाले इजरायलविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै छनोट भएको हो । खेलको दोस्रो मिनेटमै एरान जाहावीले गोल गर्दै इजरायललाई अग्रता दिलाएका थिए । तर १०औं मिनेटमा रोमानियका जर्ज पुस्कासले बराबरी गोल फर्काए । यस्तै इहनिस हागीले ६३औं मिनेटमा गोल गर्दै रोमानिया लाईअग्रता दिलाए ।
८५औ मिनेटमा भ्यालेन्तिना मिहाइलाले रातो कार्ड पाएपछि रोमानिया दश खेलाडीमा समेटिएको थियो तर त्यसले नतिजामा फरक पारेन ।
जितपछि रोमानिया ९ खेलबाट १९ अंक जोडेर समूह आईको शीर्ष स्थानमा छ ।
यस्तै स्वीट्जरल्याण्डले कोसोभोसँग १-१ को बराबरी खेल्दै छनोट भएको हो । रुबेन भर्गासको गोलमा स्वीस टोलीले ५२औं मिनेटमा अग्रता लिएको थियो । तर कोसोभोले मुहामेत हाईसेनीको पसामा ८२औं मिनेटमा बराबरी गरेको थियो ।
बराबरीपछि ९ खेलबाट १७ अंक जोडेर स्विट्जरल्याण्ड एक खेल अगावै छनोट भएको हो ।