नेपाली वास्तुको अनुसन्धानात्मक पुस्तक सार्वजनिक

दाङ । वास्तुविज्ञ इन्जिनियर लक्ष्मीप्रसाद सोतीले लेखेको नेपाली वास्तुको अनुसन्धानात्मक कृति सार्वजनिक भएको छ । भारत र चीनको वास्तुभन्दा नेपालको वास्तु किन फरक छ भन्ने विषयमा सोतीले लेखेको पुस्तक सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले सार्वजनिक गरेकी हुन् ।

दाङमा आयोजित दुई दिने राष्ट्रिय ज्योतिष वास्तु तथा अध्यात्म सम्मेलन एवम् रजत वर्ष विषेश कार्यक्रममा सोतीले लेखेको पुस्तक विमोचन गर्दै मन्त्री शर्माले ज्योतिषशास्त्र गणितीय सूत्रमा आधारित विज्ञान भएको उल्लेख गर्दै यस क्षेत्रमा अझं बढी खोज अनुसन्धान आवश्यक रहेको बताइन् ।

नेपाल ज्योतिष परिषदका वास्तु विभाग प्रमुख समेत रहेका सोतीले नेपाल, चीन र भारतको वास्तु फरक हुनको कारण खोजी गर्दै केही वर्षदेखि अनुसन्धान गरेको र त्यसको निष्कर्षसहित पुस्तक तयार पारेको जानकारी दिए ।

वास्तुमा पञ्च तत्वको महत्व र भूमिका, नेपालको वास्तु अरु देशसँग नमिल्नुको वैज्ञानिक कारण पुस्तकमा रहेको उनले बताए । नेपाली वास्तुको पुस्तक अंग्रेजी र नेपाली दुवै भाषामा उपलब्ध रहने वास्तुशास्त्री सोतीले जानकारी दिए । नेपालमा वास्तुका अन्य किताबहरु बजारमा रहेता पनि नेपालको भूमि र भू–बनोटमा आधारित भएर अनुसन्धान गरी निकालिएको यो पुस्तक पहिलो भएको उनको दावी छ ।

नेपालको वास्तु भारतसँग नमिल्ने तथ्यमात्र होइन, नेपालकै वास्तु पनि सबै ठाउँमा एकै नियमको नहुने र नेपालको भू–बनोट र धरातलका आधारमा वास्तुलाई ५ क्षेत्रमा विभाजन गरेर हेरिने सोतीले जानकारी दिए ।

कार्यक्रमको दोस्रो सत्रमा उपप्राध्यापक कपिलदेव सुवेदीले वैदिक वास्तुबारे कार्यपत्र प्रस्तुत गरेका थिए । तेस्रो सत्रमा प्रा.डा. अर्जुनप्रसाद भट्टराईले ज्योतिषमा विद्या र सन्तान विषयक र प्रा. प्रेमकुमार आचार्यले संस्कारको महत्व र सोह्र संस्कारहरु विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

Sharing This Article