प्रिमियरमा कलाकारदेखि नेतासम्मले हेरे फिल्म ‘ऐंचोपैंचो’ (तस्वीर)

काठमाडौं । रिलिजको पूर्वसन्ध्यामा फिल्म ‘ऐंचोपैंचो’लाई प्रिमियर गरिएको छ, जहाँ राजनीतिज्ञदेखि सेलिब्रेटी सहभागी रहे ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, एकीकृत समाजवादीका सांसद प्रेम आलेमगर, कांग्रेस सांसद प्रदीप पौडेल र एमाले सांसद महेश बस्नेत पनि फिल्म हेर्न पुगेका थिए ।
निर्देशक कृषा चौलागाईं, अभिनेत्रीहरु स्वस्तिमा खड्का, वर्षा राउत लगायत कास्ट एण्ड क्रिउ प्रिमियरमा उपस्थित रहे । निर्देशक शोभित बस्नेतले ‘ऐंचो पैंचो’को कथावस्तुले नेतालाई दुःखी र आफ्नो पीडा दर्शाएकोमा जनतालाई खुसी बनाउने बताए । राजनीतिज्ञले फिल्म हेर्नुपर्ने उनको सुझाव छ ।
निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले फिल्म राम्रो रहेको भन्दै राजनीतिले समाजमा पारेको प्रभावलाई सशक्त ढंगले प्रस्तुत गरिएको बताइन् । निर्देशक एभरेष्ट सूर्य बोहराले फिल्म मनोरञ्जनात्मक बनेको भन्दै अहिलेकै सामाजिक माहोललाई चित्रण गरिएको बताए ।
नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद् प्रेम आलेले फिल्मले राजनीतिकर्मी सच्चिनुपर्छ भन्ने सन्देश दिएको बताए । रास्वपा सांसद शोभिता गौतमले फिल्मले समाजलाई चित्रण गरेको बताइन् । राप्रपा सांसद ज्ञानबहादुर शाहीले फिल्मले मुलुकको वर्तमान यथार्थ चित्रण गरिएको बताए ।
फिल्ममा मुकुन भुसाल, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारीको पनि अभिनय छ । अभिमन्यू निरवीको लेखन र पुरुषोत्तम प्रधानको छायांकन छ । यो फिल्म रक्षाबन्धन र जनैपूर्णिमाको अवसरमा बिहीबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ ।
तस्वीर सौजन्य : ज्ञानु राई