बर्डफ्लू पीडित किसानले राहत पाउने बाटो खुल्यो

५ फागुन, काठमाडौं । सरकारले बर्डफ्लू पीडित किसानलाई राहत दिने बाटो खुला गरेको छ । शुक्रबार बसेको मनित्रपरिषद् बैठकले कार्यविधि बनाएर किसानलाई राहत दिने निर्णय गरेको हो । बर्डफ्लूका कारण गत वर्ष ५८ करोड बराबरको क्षति व्यहोरोका २९९ जना किसान कानुन अभावमा क्षतिपूर्तिबाट बञ्चित भएका थिए ।
मन्त्रिपरिषद्को निर्णयसंगै अब किसानका लागि क्षतिपूर्ति वितरण गर्न प्रदेश र जिल्लाहरुमा रकम विनियोजन गर्ने मन्त्रालयले जनाएको छ ।
किसानको क्षतिपूर्तिका लागि आवश्यक ५८ करोड रुपैयाँ कृषि मान्त्रालयको आन्तरिक स्रोतबाट वितरण गर्न यसअघि नै अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको छ । बर्डफ्लूका कारण कुखुरा, कालिज, दाना तथा अण्डा नष्ट भएको एक वर्षसम्म पनि क्षतिपूर्ति नपाउँदा किसानहरु आन्दोलित भएका थिए ।
पन्छीबाट मानिसमा सर्नसक्ने घातक बर्डफ्लू रोग नियन्त्रणका लागि सरकारले राहत सम्बन्धी मापदण्ड बनाएको थियो । ‘बर्डफ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुहरुको राहत दिने मापदण्ड २०७८ अनुसार १३ माघदेखि २ साउन २०७९ सम्म बर्डफ्लू रोग नियन्त्रण गर्ने क्रममा नष्ट गरिएका पन्छीको धनीले राहत पाउनु पर्ने थियो । तर, ‘बर्डफ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छीहरुको वस्तुहको राहत दिने मापदण्ड ४ साउन २०७९ मा मात्र सरकारले जारी गरेको थियो ।
२०७८ साल माघ महिनादेखि पन्छीमा बर्डफ्लू रोग देखा परे पश्चात साविकको बर्डफ्लू रोग नियन्त्रण आदेश, २०६४ बमोजिम रोग नियन्त्रण कार्य सञ्चालन गरिएकोमा सो आदेशलाई बर्डफ्लू नियन्त्रण निमयावली, २०७८ ले प्रतिस्थापन गरे पश्चात त्यसअघि नष्ट भएका पन्छीको क्षतिपूर्तिबारे कानुनी प्रश्न उब्जिएको थियो । पीडितहरुकाअनुसार प्रतिकिसान कम्तीमा १२ लाखदेखि २ करोडसम्म राहत रकम सरकारबाट पाउनु पर्ने छ ।