भूकम्पले क्षतिग्रस्त गाउँहरूमा पनि जोडियो बिजुली सेवा
१९ कात्तिक, काठमाडौ । नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा भूकम्पले धेरै घरहरू भत्किएको क्षेत्रमा समेत विद्युत् सेवा फेरि सुरु गरेको छ । विद्युतीय दुर्घटनाको जोखिम नहुने निश्चित गर्दै पालमा बसेकाहरुलाई सहज हुने गरी विद्युत सेवा सुरु गरिएको प्राधिकरणले जनाएको छ ।
उद्धार कार्य जारी रहँदा विद्युत् लाइन दिँदा थप दुर्घटना हुने भएकाले आपूर्ति बन्द गरिएको थियो । अहिले राष्ट्रिय प्रसारणलाइनबाट बिजुली पुगेका आधिकांश प्रभावित क्षेत्रमा विद्युत फेरि जोडिएको छ ।
अहिले पश्चिम रुकुम र जाजरकोटका सयौं परिवार घर भत्किएका बारण त्रिपाल र खुला आकाशमुनि बस्न बाध्य छन् । यस्तो अवस्थामा मोबाइल चार्ज गर्न समेत समस्या भएको गुनासो आएपछि प्राधिकरणले जोखिम नहुने गरी अधिकांश प्रभावित क्षेत्रमा विद्युत सेवा फेरि सुरु गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
‘सामूहिक रुपमा पाल टाँगेर बसेका प्रभावितहरुका लागि रातमा समस्या नहोस् फ्लस लाइट समेत जोडिएको छ,’ उनले भने,‘बिजुली आपूर्तिको समस्याले प्रभावितहरुलाई कुनै सकस नहोस् भन्नेमा सचेत छौं ।’
भूकम्पका कारण पोल तथा लाइनहरुमा क्षति पुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो । प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोलहरुको मर्मतसम्भार गरी शनिबार विहान १० बजेपछि धेरै क्षेत्रमा विद्युत् सेवा सुरु गरेको थियो ।