यू–१९ राष्ट्रिय क्रिकेटः कर्णालीको पहिलो जित
११ मंसिर, काठमाडाैं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले तेस्रो खेलमा पहिलो जित हासिल गरेको छ । मूलपानी मैदानमा कर्णालीले मधेश प्रदेशलाई २ विकेटले हराएर अंकको खाता खोलेको हो ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मधेश प्रदेशले ४१.५ ओभरमा अलआउट हुनुअघि १३५ रन बनाएको हो । कर्णालीका बलर युनिस सिंह चम्कदाँ मधेश मध्यम लक्ष्यमा समेटिएको थियो । उनले सर्वाधिक पाँच विकेट लिए ।
१३६ रनको जित लक्ष्य कर्णालीले ३४.४ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । कर्णलीका लागि मोहन विकले सर्वाधिक ३८ रन बनाए । ओपनर मनिष थापाले ३२ रन बनाए । सुवास ऐरले १४, आभास शाहले १२ बनाए ।
मधेशका लागि रञ्जित कुमारले पाँच विकेट लिए पनि हार टार्न सकेनन् । उनले १० ओभर बलिङ गर्दै ३ मेडन सहित २३ रन खर्चेर ५ विकेट लिएका हुन् । अविजित मण्डलले २ विकेट लिए ।
त्यसअघि, ब्याटिङ गरेको मधेशका लागि ओपनर सैलेन्द्र शाहले सर्वाधिक ३१ रन बनाए । अर्का ओपनर मयन यादवले १८, मेघराज रामले १६, सर्फराज मन्सुरीले १७ र दब्लु मलिकले १५ रन जोडे ।
कर्णालीका लागि युनिस सिंहले सर्वाधिक ५ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै २ मेडन सहित ३५ रन खर्चेर ५ विकेट लिए । मोहन विक र आभास शाहले समान २÷२ विकेट लिए ।
कर्णाली पहिलो खेलमा सुदुरपश्चिमसँग ५ विकेट र लुम्बिनी प्रदेशसँग ६ विकेटले पराजित भएको थियो । त्यस्तै मधेश प्रदेश पहिलो खेलमा बागमतीसँग १५२ रनले पराजित भएको थियो ।