लामाचौर राष्ट्रिय महिला पुरुष भलिबल प्रतियोगिता भदौ २९ गतेबाट सुरु हुने

२४ भदौ, पोखरा । पोखराको लामाचौरमा भदौ २९ देखि असोज १ गतेसम्म राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नवआदर्श सामुदायिक विकास समाजले गर्दै आएको भलिबल प्रतियोगिताको महिलाअन्तर्गत दशौं र पुरुषतर्फ दोस्रो संस्करण हो ।

लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा हुने राष्ट्रियस्तरको भलिबल प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ४ समूहले भाग लिने आयोजकले जनाएको छ ।

राउन्ड रोबिन आधारमा खेलाइने प्रतियोगितामा पुरुषतर्फ विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपीएफ), गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब बुटवल र गल्कोट स्पोर्टस् क्लब बाग्लुङले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका जुरी डिबी नेपालीले जानकारी दिए ।

त्यस्तै महिलातर्फ नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपीएफ), न्यु डायमन्ड एकेडेमी र न्यु एभरेस्ट भलिबल क्लब बुटवलले प्रतिस्पर्धा गर्नेछन् ।

‘महिलातर्फ गण्डकी प्रदेशको टिम सहभागी हुने छैन,’ जुरी नेपालीले भने, ‘अर्को विभागीय टोली नेपाल आर्मी क्लबले पनि महिला, पुरुष दुवै विधामा सहभागी नहुने जानकारी पाएका छौं ।’

राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता पुरस्कार विजेताले १ लाख ५० हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेता टोलीले १ लाख १११ रुपैयाँ र तेस्रो हुने टोलीले ५० हजार १११ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

हरेक वर्ष महिला भलिबल प्रतियोगिता हुँदै आएकोमा अघिल्लो वर्षदेखि पुरुष भलिबलको प्रतियोगिता पनि थपिएको हो । २५ वर्षदेखि निरन्तर भइरहेको लामाचौर तीज महोत्सवको अवसरमा क्लबले तीज गीत तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिता पनि गर्दै आइरहेको छ ।

Sharing This Article