वित्तीय कम्पनीका विभागीय प्रमुखलाई दिइयो नेपाल वित्तीय प्रतिवेदन मान ९ सम्बन्धी तालिम
१४ भदौ, काठमाडौं । वित्तीय संस्था संघले वित्तीय संस्थाका विभागीय प्रमुखहरुलाई नेपाल वित्तीय प्रतिवेदन मान ९ सम्बन्धित तालिम दिएको छ । दुई दिने तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा विभिन्न वित्त कम्पनीमा कार्यतर ४५ जना भन्दा बढी विभागीय प्रमुख सहभागी भएका थिए ।
केन्द्रीय बैंकका कार्यकारी निर्देशकहरु समेत सहभागी भएको उक्त कार्यक्रममा सीए रमेश धितालले एफआरएस ९ को गणनाका लागि विगतका वर्षमा कर्जाका तथ्यांक एकरुपताका साथ राख्नु पर्ने बताए । साथै कर्जा, जोखिम, आन्तरिक लेखापरीक्षण, सुचना प्रविधि विभाग सम्मिलित समिति तत्काल गठन गर्नुपर्ने समेत उनले बताए ।
बैंक तथा वित्तीय संस्थाले २ वर्ष नकुरी पूर्व तयारी मा रहनुपर्ने समेत उनले बताए । प्रतिवेदन मान– ९ लागु गर्न आवश्यक पूर्वाधार विकासको लागि सहजीकरण गर्न तथा छिमेकी मुलुकमा गरिएका इ सी एल कार्यान्वयनका अभ्यास अध्ययन गरेर केन्द्रीय बैंकले मार्गदर्शन प्रदान गर्न समेत उनले अनुरोध गरे ।
कार्यक्रमको समापन सत्रमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र, बैंक सुपरीवेक्ष विभाग प्रमुख देवकुमार ढकाल, नियमन विभाग प्रमुख डा. गुणाकर भट्ट, वित्तीय संस्था सुपरीवेक्षण विभाग प्रमुख विश्रुत थापा तथा वित्तीय संस्था सुपरीवेक्षण विभागका निर्देशन राजन विक्रम थापा सहभागी भए ।
कार्यक्रमको समापनमा बोल्दै डेपुटी गर्भनर मिश्रले चालु आवको प्रथम त्रैमासिक प्रतिवेदनदेखि नै वित्तीय प्रतिवेदन मान ( ९ अनुसारको कर्जा नोक्सानी व्यवस्था ईसीएल अनुरुप कायम गर्नु पर्ने बताए ।
विभिन्न सफ्टवेयरमा ठुलो धन राशी खर्च गर्नुभन्दा एक्सेललाई नै पूर्ण रुपमा प्रयोग गरी कर्जा नोक्सानी व्यवस्था गणना गर्न सकिने भएकोले त्यस तर्फ लाग्न र सफ्टवेयर खरिद वापत हुने ठूलो विदेशी मुद्रा खर्च रोक्न उनले सुझाव दिए ।