सरकारको निर्णयपछि हट्यो अरुण तेस्रोको अवरोध

२३ कात्तिक, काठमाडौं । ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा गत १६ भदौदेखि जारी अवरोध हटेको छ । स्थानीयले छुट मुआब्जा माग गर्दै विद्युत् गृह र आयोजना प्रवेशमार्ग अवरोध गरेका थिए ।

सङ्‍खुवासभास्थित चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नर्बु शेर्पाका अनुसार तत्कालका लागि मुआब्जा रकम डेभलपरबाट स्थानीयलाई भुक्तानी गर्ने र त्यसवापतको रकम सरकारबाट सोधभर्ना गर्ने सहमतिसँगै अवरोध हटेको हो ।

बुधबारदेखि अवरोध हटेर आयोजना निर्माणको काम सुचारु भएको उनले जानकारी दिए ।

यसअघि १७ कात्तिकमा मन्त्रिपरिषद् बैठकले अरुण तेस्रो जलविद्युत् आयोजनाको समस्या समाधान गर्न छुट मुआब्जास्वरुप ५४ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको थियो ।

सरकारले भने मुआब्जा सम्बन्धी विषय धेरै गिजोलिएका कारण थप अध्ययनपछि मात्र भुक्तानी गर्ने निर्णय गरेको छ ।

तर, काम रोकिएको लामो समय भएका कारण आयोजनाले तत्कालका लागि स्थानीयको रकम भुक्तानी गर्ने र सो रकम सरकारबाट सोधभर्ना लिने सहमति भएको हो ।

Sharing This Article