साढे ४ हजार उचाइको लोमान्थाङमा गल्फ, विजेतालाई घोडा उपहार

२० भदौ, पोखरा । मुस्ताङको लोमान्थाङमा ४ हजार ६ सय ४५ मिटरको उचाइमा भदौ मसान्तमा गल्फ च्यालेन्ज हुने भएको छ । हाइ अल्टिच्युडमा गल्फ खेल हुने ठाउँका रुपमा मुस्ताङको लोमान्थाङलाई विश्वसामु चिनाउन कसरत गरिरहेका गण्डकी प्रदेश सभाका पूर्व सांसद इन्द्रधारा विष्टको नेतृत्वमा लोमान्थाङ गाउँपालिकाले मैत्रीपूर्ण गल्फ खेलाउने भएको हो ।
विष्टकै नेतृत्वमा पोखराका चार गल्फरले गत असार १८ गते गल्फ खेल्दै कोर्षको स्केच गरेका थिए । पोखरेली गल्फरले प्रवद्र्धनात्मक गत साल गल्फ खेलेपछि विश्वभरमा गल्फर भित्राउने सपना देखेका विष्टको नेतृत्वमा देशका विभिन्न सहरबाट बोलाएर भदौ ३० गते खेलाउन लागेका हुन् ।
पोखरा, काठमाडौं, बुटवल, धरानलगायतका सहरबाट ४० जना गल्फर लोमान्थाङमा खेल्ने पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ । गत साल सफल भएपछि यसपटक सिंगो गल्फ क्षेत्रकै ध्यानाकर्षण हुने गरी दोस्रो पटक गल्फ च्यालेन्ज आयोजना गरिएको पूर्व सांसद विष्टले जानकारी दिए ।
विष्ट आफैं पनि गल्फर हुन् । ४ हजार ६ सय ४५ मिटरको उचाइमा रहेको लोमान्थाङको गर्फ कोर्ष विश्वकै हाइ अल्टिच्युडका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रक्रिया अगाडि बढाइएको पनि विष्टले जानकारी दिए । ४० जना सहभागीमध्ये ४ जना महिला गल्फरले पनि खेल्ने विष्टले जानकारी दिए ।
नेपाली खेलाडीबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गराउँदै लोमान्थाङलाई चिनाउने र अर्को पटक विश्वका विभिन्न ठाउँबाट गल्फर बोलाउने अभियानसमेत सुरु गर्ने योजना विष्टको छ । हाइअल्टिच्युड तर लोमान्थाङको समथर मैदानमा हुने यसपटकको प्रतियोगिताका विजेतालाई घोडा उपहार दिइने छ । विष्टका अनुसार घोडा नलिनेले १ लाख रुपैयाँ लिने विकल्प पनि दिइने छ ।
इभेण्ट ९ होलमा ३/४ ह्याण्डिक्यापको साथ स्थिर फोर्ड ढाँचामा खेलाइने छ । उपविजेता, बेष्ट ग्रस, पिनको नजिक, सबैभन्दा लामो ड्राइभ, बर्डीजलाई पनि पुरस्कारको व्यवस्था गरिएको विष्टले जानकारी दिए ।
यो गल्फ कोर्षलाई विश्वकै चिनाउँदै खेल पर्यटनको माध्यमबाट लोमान्थाङलाई जोड्ने सपना विष्टले सुनाए । ‘मैले जति पनि नेपालमा गल्फरहरु चिने, ९० प्रतिशत आर्थिक रुपमा सम्पन्न व्यक्ति छन् । खेल पर्यटनसँग जोड्ने, हाइ अल्टिच्युट खेलहरु क्लेम गर्ने भनेर हामीले नीति तथा कार्यक्रम र बजेटमै तयार गर्यौं । त्यही विषयवस्तुलाई प्ररित गर्दै सुरु गर्यौं,’ सांसद विष्टले भने, ‘विश्वभर गल्फरहरुको दिमागमा यस्तो क्लिक जाओस् कि लोमान्थाङको गल्फ कोर्समा गएर एक पटक चाहिँ गेम खेलेर आउँछु ।’
धनी मानिसहरु हेलिकप्टर वा जहाजमा पुगेर एकै दिनमा गल्फ खेल्न सक्ने अवस्था रहेको बताए । हाइ अल्टिच्युड डर हुन्छ भने आरामले लोमान्थाङ बसेर पनि गल्फ खेल्न सकिने विष्टले बताए । लोमान्थाङभन्दा पनि उचाइमा रहेको गल्फ कोर्षमा हिउँ पर्ने सिजन बाहेक अरु बेला पनि खेल्न सकिने भएकाले यसलाई विश्वसामु चिनाउनु पर्ने विष्टको भनाइ छ ।