ह्याप्पी भ्यालेन्टाइन डे प्रिया

तिमीले तर्ने हरेक जंघारमा

मलाई पनि साथै लैजानु

जसरी एउटा बटुवाले नदी तर्दै गर्दा

सहाराको लागि लठ्ठी साथै लैजान्छ

तिम्रो यात्राको त्यही लठ्ठी बनिरहुँला

जिन्दगीका जंघारहरु सँगसँगै तरौंला

ह्याप्पी भ्यालेन्टाइन डे  प्रिया

जब

घरको धुरी खाँबोमा भार बढ्दै जान्छ

खाँबो नडगमगाओस् भनेर

धुरी खाँबोको छेउमा

अर्को खाँबोको अडेस दिइन्छ

त्यसरी नै म तिम्रो लागि

र तिमी मेरो लागि

सहायक खाँबो बनिरहौंला

हाम्रो सम्बन्धको घरको चुली

हिमचुलीझैं सधैंभरि चुलिरहोस्

ह्याप्पी भ्यालेन्टाइन डे  प्रिया

जसरी

सेतो कोमल हिउँले सुख्खा पहाडलाई

न्यानो अंगालोमा बेरिरहन्छ

अनि त्यो सुख्खा पहाड

हिमालको नामले कहलाउँछ

सेता दन्तलहर खोल्छ

दुनियाँलाई लठ्ठ बनाउँछ

त्यसरी नै तिमी मलाई

जिन्दगी भर अँगालिरहनु

केही हिउँ पग्लिंदै जान्छन्

ती पग्लिएर गएका हिउँहरुजस्तै

हाम्रा असमझदारी पग्लिंदै जाउन्

हाम्रो सम्बन्ध सधैं सगरमाथाझैं

अटल बनिरहोस्

ह्याप्पी भ्यालेन्टाइन डे प्रिया

हेर त यो पुल

एउटा पिल्लरको आडले

विशाल कर्णाली नदीको छाल सहेको छ

अनि दुई किनारलाई एक बनाइदिएको छ

भन त यो पुलमा

एउटा अर्को पिल्लर थपिदिए के होला ?

पुल नदीको छाल सहन दुगुन सक्षम होला ?

दुई किनारको सम्बन्ध अझ मजबुत होला ?

मेरो जिन्दगीको एउटा पिल्लर तिमी

तिम्रो जिन्दगीको अर्को पिल्लर म

दुई पिल्लरको आडमा

हाम्रो सम्बन्धको पुल मजबुत बनिरहोस्

अटुट चलिरहोस्

ह्याप्पी भ्यालेन्टाइन डे प्रिया

एउटा नदी

हिमालको काखमा जन्मिन्छ

पहाड खोल्सा खोल्सीमा हुर्किन्छ

बाटोमा खहरेहरु उर्लिन्छन्

गडगडाउँछन्

बाटो छेक्नै पनि आउँछन्

कैयौं चोट र अवरोध छिचोल्दै

आफ्नो गन्तव्यतिर अविरल बगिरहन्छन्

त्यसरी नै हाम्रो सम्बन्धको नदी अविरल बगिरहोस्

ह्याप्पी भ्यालेन्टाइन डे प्रिया

बुढी आमा

एउटा कपासको डल्लो लिन्छिन्

त्यसबाट सानो त्यान्द्रो निकाल्छिन्

बटार्दै बटार्दै एकजोडा बाती बनाउँछिन्

अनि दियोमा राखेर

हरेक साँझ तुलसीको मठमा बाल्छिन्

ती एकजोडा बाती त्यतिबेलासम्म बल्छन्

जतिबेलासम्म दियोमा तेल थपिरहन्छिन्

हामी पनि मनको दियोमा

मायाको तेल थपिरहौंला

ताकि

सम्बन्धको बत्ती सधैंभरि बलिरहोस्

ह्याप्पी भ्यालेन्टाइन डे प्रिया ।।

Sharing This Article