६४ वर्षदेखि आरनमा फलाम पिट्दै पदमलाल

९ भदौ, मनहरी (मकवानपुर) । खरको छानो र काठका बाकलले घेरिएको छ पदमलाल विश्वकर्माको आरन । उनको आरनमा छरपस्ट फलामका टुक्रा र बनाउन ल्याइएका गाउँलेका हँसिया, कोदालो र अन्य फलामका सामग्री रहेका छन् ।

बिहानको खाजानास्तापछिको उनको दिनचर्या हुन्छ फलामसँग जुध्ने । मकवानपुरको बकैया गाउँपालिका–५ निवासी पदललाल ७७ वर्षका भए । १३ वर्षको उमेरदेखि पुर्ख्यौली पेसालाई अङ्गाल्दै आएका पदमलालको छ दशकभन्दा बढी समय आरनमा फलाम पिटेर बितेको छ ।

गाउँघरमा खेतीपाती गर्नेको सङ्ख्या घट्दै गएपछि आरन पेसा सङ्कटमा पर्न थालेको पदमलालले बताए । तेह्र वर्षको कलिलो उमेरदेखि आरन पिट्ने काम गरेको अनुभव सुनाउँदै उनले पछिल्ला केही वर्षयता फलाम पिट्ने काम कम हुँदै गएको बताए । पछिल्लो समय प्रविधिको विकासले फड्को मारेर खेतबारीमा ट्र्याक्टरको प्रयोग हुन थालेपछि हलो, चाँदे, कोदालीको प्रयोगमा कमी हुँदै जाँदा आरन पेसा सङ्कटमा पुग्न थालेको पदमलालको भनाइ थियो ।

‘आरनबाट दिनचर्यासमेत चल्न गाह्रो पर्न थालेपछि युवा पुस्ताले यो पेसा गर्न रुचाउदैनन् । पढाइ तथा रोजगारीका लागि अन्यत्र जानेको जमात बढी छ’, उनले भने, ‘अहिलेसम्म आरनबाटै चार जनाको परिवारको जीविकोपार्जन भइरहेको छ । पुर्खौली पेसा भएकाले पनि छाड्न मन लाग्दैन ।’ आफूले अरु काम नजानेको र बाबुबाजेले पनि यही काम गर्दै आएकाले यसलाई नै निरन्तरता दिएको उनको भनाइ थियो ।

पदमलालले फलाम ल्याएर हँसिया, कुटो, कोदालो, खुकुरी, दाउलगायत सामग्री परम्परागत रुपमा बनाउने गर्छन् । पछिल्लो समय कोइला नपाउने, पाए पनि महँगोमा पाइने हुँदा काममा अप्ठ्यारो भएको उनले बताए । पहिले पहिले काम गरेबापत मकै, चामल भाग लिने चलन रहेको बताउँदै अहिले त्यो चलन हराउँदै गएपछि नगद लिने गरेको पदमलालले सुनाए ।

‘आँखाले देखुञ्जेल फलाम पिट्छु र जीविकोपार्जन गर्छु भन्ने लाग्छ । गाउँ विकास भयो, मेसिनबाट खेतीपाती लगाउन थाले । तैपनि केही चिज आरनमै बनाउन आउँछन्, खुसी लाग्छ’, उनले भने, ‘बजारमा फलामका काम गर्ने ग्रील उद्योग खुलेका छन् । त्यसैले पनि आरन आउन छाडेका हुन् ।’ प्रविधिको विकाससँगै पेसालाई बदल्न नसक्दा गाउँका कतिपयले आरन पेसा बन्द गरेर अन्य पेसा गरिरहेका उनले बताए ।

Sharing This Article